हेटौँडाको भुवनेश्वर महादेव मन्दिर बन्दै धार्मिक पर्यटकीय गन्तव्य
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ मा रहेको भुवनेश्वर महादेव मन्दिरलाई काठमाडौँको पशुपतिनाथ मन्दिरको झल्को दिने प्रमुख धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रूपमा विकास गरिएको छ।
पशुपतिनाथ मन्दिरकै स्वरूपमा निर्माण गरिएको यस मन्दिरको परिसर १० कठ्ठा ७ धुर क्षेत्रफलमा फैलिएको छ। परिसरमा नवग्रह, हनुमान, सरस्वतीलगायत विभिन्न देवीदेवताका मूर्तिहरूका साथै अतिथिगृहसमेत निर्माण गरिएको छ।
विसं २०४२ मा निर्माण भएको यस मन्दिरमा पशुपतिनाथमा जस्तै पूजाविधि र परम्परा रहेको मन्दिरका पुजारी पवन घिमिरेले जानकारी दिए। उनका अनुसार यहाँ पनि दर्शनार्थीले मूल प्रवेशद्वारबाहिरबाटै पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ।
मन्दिरमा दैनिक रूपमा भक्तजनहरू दर्शनका लागि आउने गरेका छन्। विशेषगरी महाशिवरात्रि लगायतका पर्व तथा तिथिमा एकै दिन २० हजारभन्दा बढी भक्तजन आउने गरेको पुजारी घिमिरेले बताए।
भक्तजनको सुरक्षामा विशेष ध्यान
भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै मन्दिरको मूल बरन्डामा दीप तथा धूप बाल्ने पुरानो व्यवस्थालाई परिवर्तन गरी पश्चिम–दक्षिणतर्फ छुट्टै स्थानको व्यवस्था गरिएको छ।
विशेष पर्वका दिन भक्तजनको सहज आवागमनका लागि पश्चिमी ढोकाबाट प्रवेश र पूर्वी ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ। अन्य दिनमा भने पूर्वी ढोका आवश्यकताअनुसार खोल्ने गरिएको छ।
मन्दिर खुल्ने समय पनि महिनाअनुसार फरक छ। मंसिर, पुस र माघ महिनामा बिहान ५ बजेदेखि १० बजेसम्म तथा बेलुका ४ बजेदेखि ६ बजेसम्म मन्दिर खुला रहने व्यवस्था छ। अन्य महिनामा बिहान ४ बजेदेखि १० बजेसम्म र बेलुका ५:३० बजेदेखि ७ बजेसम्म दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ।
पूर्वाधार विकासका लागि प्रदेश सरकारको ३० लाख सहयोग
मन्दिर परिसरमा पूर्वाधार विकास तथा आवास व्यवस्थापनका लागि बागमती प्रदेश सरकारले ३० लाख रुपैयाँ सहयोग गरेको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ पाण्डेका अनुसार अतिथिगृह निर्माणका लागि २० लाख रुपैयाँ र बेड तथा बिस्तारा व्यवस्थापनका लागि १० लाख रुपैयाँ प्राप्त भएको हो।
टाढाबाट आउने दर्शनार्थीलाई सहज होस् भन्ने उद्देश्यले आवासको व्यवस्था गरिएको अध्यक्ष पाण्डेले बताए। आवास प्रयोग गर्ने दर्शनार्थीबाट बेडको सरसफाइका लागि प्रतिव्यक्ति २०० रुपैयाँ लिने गरिएको उनले जानकारी दिए।
मन्दिर परिसरको दिगो सञ्चालनका लागि भक्तजनबाट प्राप्त भेटी तथा परिसरमा रहेका सटरको भाडा प्रमुख आम्दानीका स्रोत हुन्। सेवा समितिले परिसरका संरचना तथा पूर्वाधार प्रयोग र विशेष पूजाआजाका लागि विभिन्न शुल्कसमेत निर्धारण गरेको छ।
निर्धारित शुल्कअनुसार खुला चौर प्रयोगका लागि ५०० रुपैयाँ, भजनकीर्तन हलका लागि एक हजार रुपैयाँ, यज्ञमण्डपका लागि एक हजार ५०० रुपैयाँ र सानो कोठा प्रयोगका लागि ५०० रुपैयाँ लिने व्यवस्था छ। विशेष पूजा तथा लघुरुद्रीका लागि दुई हजार १११ रुपैयाँ तथा लाखबत्ती, पास्नी र स्वयंवरका लागि एक हजार १११ रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
भजनकीर्तन र योगको केन्द्र बन्दै
भुवनेश्वर सेवा समितिले मन्दिर परिसरलाई व्यवस्थित बनाउन विसं २०६८ देखि विभिन्न ११ बुँदे नागरिक बडापत्र लागू गरेको छ। मन्दिरमा प्रत्येक सोमबार, शुक्रबार, शनिबार र एकादशीका दिन विशेष भजनकीर्तन आयोजना गरिन्छ।
भजनकीर्तनमा ठूलो सङ्ख्यामा भक्तजन सहभागी हुने भएकाले परिसरमा थप कुर्सीको आवश्यकता रहेको समितिका सल्लाहकार हरि रिजालले बताए।
विसं २०७४ मा स्थानीयवासीको पहलमा मन्दिर परिसरमा पशुपति सदन स्थापना गरिएको थियो। उक्त भवनका केही कोठा व्यक्तिगत सहयोग तथा नगरपालिकालगायतका निकायको सहयोगमा निर्माण गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए।
उनका अनुसार विगतमा दुर्व्यसनीको अखडाजस्तै बनेको यो क्षेत्र अहिले महत्वपूर्ण धार्मिक धामका रूपमा विकास हुँदै गएको छ। पूर्वाधार विकाससँगै भुवनेश्वर महादेव मन्दिर हेटौँडा क्षेत्रको प्रमुख धार्मिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको उनको भनाइ छ।
मन्दिर परिसरमा इन्टरनेट सुविधा सहज बनाउन नेपाल टेलिकमले निःशुल्क वाइफाइको व्यवस्था गर्ने तयारीसमेत गरेको छ। हेटौँडामा बढ्दो सहरीकरणका बीच अवस्थित यस मन्दिरले धार्मिक आस्थासँगै आध्यात्मिक जागरणको केन्द्रका रूपमा पनि आफ्नो पहिचान बनाउँदै गएको छ।
मन्दिरमा दैनिक बिहान ४:३० बजेदेखि ६ बजेसम्म पतञ्जली योग तथा जीवन विज्ञानका कक्षासमेत सञ्चालन हुँदै आएका छन्।
